Highlights

लुम्बिनी प्रदेशमा अंग्रेजी शिक्षण सुधारोन्मुख

लुम्बिनी प्रदेशमा अंग्रेजी शिक्षण सुधारोन्मुख

2026-07-28

अघि बढ्दै गएको एक अध्ययनले लुम्बिनी प्रदेशका विद्यालयहरूमा अंग्रेजी शिक्षकहरूको कक्षाकोठा अभ्यासमा उल्लेखनीय सुधार देखिएको निष्कर्ष निकालेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अनुसन्धान समन्वय तथा विकास परिषद् (आरसीडीसी) को आर्थिक सहयोगमा सञ्चालन गरिएको राष्ट्रिय प्राथमिकता प्राप्त अनुसन्धान परियोजनाअन्तर्गत गरिएको ‘लुम्बिनी प्रदेशमा अंग्रेजी शिक्षकहरूको कक्षाकोठा अभ्यासको मूल्याङ्कन’ शीर्षकको अध्ययनले शिक्षकहरूको शिक्षण अभ्यासमा सकारात्मक परिवर्तन आएको देखाएको हो। यद्यपि, अध्ययनले शिक्षक तालिमलाई आवश्यकतामा आधारित बनाउनुपर्ने र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सीपलाई तालिममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

यो अनुसन्धान बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीको नेतृत्वमा तथा प्रा.डा. तिलक भुसालको सहकार्यमा सम्पन्न गरिएको हो। अध्ययन लुम्बिनी प्रदेशका चार जिल्लाका १६ विद्यालयमा केन्द्रित थियो। अनुसन्धानमा कक्षा ११ र १२ का ४०० विद्यार्थी, १६ अंग्रेजी शिक्षक, १६ प्रधानाध्यापक, चार शिक्षक प्रशिक्षक तथा करिब ३० शिक्षक र भाषा शिक्षण विज्ञहरूको कक्षा अवलोकन तथा केन्द्रित समूह छलफलमार्फत सहभागिता रहेको जानकारी अनुसन्धान टोलीले दिएको छ। २०७९ चैतमा सम्झौता भएको यो परियोजना २०८२ मंसिरसम्म सञ्चालन गरिएको थियो।

अध्ययनका अनुसार पछिल्ला वर्षहरूमा अंग्रेजी शिक्षकहरूको शिक्षण शैलीमा सकारात्मक परिवर्तन आएको छ। शिक्षकहरूले पाठ योजना तयार गरी कक्षामा प्रवेश गर्ने, शिक्षण सामग्री तथा सूचना–सञ्चार प्रविधिको प्रयोग बढाउने, केही विद्यालयमा पावरपोइन्ट प्रोजेक्टरमार्फत अध्यापन गर्ने अभ्यास विस्तार भएको पाइएको छ। साथै, शिक्षकहरूले आफ्नै शिक्षण सीपको आत्ममूल्याङ्कन गर्ने, तालिम, गोष्ठी, कार्यशाला तथा सम्मेलनमा सक्रिय रूपमा सहभागी हुने र नयाँ शिक्षण विधि सिक्ने प्रवृत्ति पनि बढ्दै गएको देखिएको छ।

अनुसन्धानले शिक्षक तालिमले उनीहरूमा आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेतना बढाउनुका साथै आत्मविश्वास, प्रतिबद्धता र उत्प्रेरणामा सकारात्मक प्रभाव पारेको उल्लेख गरेको छ। तालिमपछि शिक्षकहरूको शिक्षण–सिकाइप्रतिको दृष्टिकोणमा सुधार आएको र नवीन प्रविधि तथा शिक्षण विधि प्रयोग गर्ने अभ्यास विस्तार हुँदै गएको अध्ययनले देखाएको छ।

तर, तालिमको प्रभाव सबै शिक्षकमा समान रूपमा नदेखिएको पनि अध्ययनले औँल्याएको छ। केही शिक्षकले विद्यालयको वातावरण तथा आवश्यक सहयोगको अभावका कारण तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न नसकेको वा त्यसतर्फ इच्छुक नदेखिएको अनुसन्धान टोलीको भनाइ छ। अध्ययनले सबै विद्यालयमा तालिमबाट प्राप्त सीप प्रयोग गर्ने अनुकूल वातावरण नहुँदा त्यसको प्रभाव दीर्घकालीन रूपमा कायम हुन नसकेको निष्कर्ष निकालेको छ।

सह–अनुसन्धानकर्ता प्रा.डा. तिलक भुसालका अनुसार समग्रमा अंग्रेजी भाषा शिक्षण र कक्षाकोठा अभ्यासमा सुधारको प्रवृत्ति देखिएकाले भविष्यमा नेपालमा अंग्रेजी भाषा शिक्षण अझ प्रभावकारी बन्न सक्ने सम्भावना रहेको छ। अनुसन्धान टोलीले हालको शिक्षक तालिम प्रणालीमा सुधार आवश्यक रहेको पनि जनाएको छ। अध्ययनले शिक्षक छनोट गर्दा आवश्यकता वा क्षमता भन्दा पनि वरिष्ठता वा प्रधानाध्यापकको सिफारिसलाई आधार बनाइने अभ्यास प्रभावकारी नभएको उल्लेख गर्दै समान आवश्यकता भएका शिक्षकलाई पहिचान गरी आवश्यकतामा आधारित तालिम सञ्चालन गर्न सुझाव दिएको छ।

यसैगरी, अध्ययनले शिक्षक तालिमका मोडेल परिमार्जन गरी सबै अंग्रेजी शिक्षकमा आधारभूत सञ्चार क्षमता विकास गर्नुपर्ने, साथै सूचना तथा सञ्चार प्रविधिसँगै अंग्रेजी शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी सीपलाई पनि तालिमको अभिन्न हिस्सा बनाउनुपर्ने सिफारिस गरेको छ।

अनुसन्धान निष्कर्ष सार्वजनिक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. इश्वरी कोइरालाले गुणस्तरीय शिक्षाका लागि अनुसन्धानलाई शिक्षण प्रक्रियासँग जोड्नुपर्ने आवश्यकता औँल्याए। अनुसन्धान विशेषज्ञ प्रो.डा. ऋषि रिजालले प्रविधिको तीव्र विकाससँगै शिक्षण प्रणालीलाई पनि प्रविधिमैत्री बनाउँदै शिक्षकलाई आवश्यकताअनुसार तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी अन्य शिक्षाविद्हरूले पनि अनुसन्धानबाट प्राप्त निष्कर्ष र सुझावहरूले नीति निर्माण, पाठ्यक्रम विकास तथा अंग्रेजी भाषा शिक्षण प्रणाली सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। साथै, तथ्याङ्क सङ्कलनमा प्राध्यापक बाबुराम गैरै र कृष्णप्रसाद भट्टराईले समेत सहयोग गरेका थिए।